संक्षिप्त परिचय

नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्री हुनुहुन्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको २०७४ सालमा भएको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा उहाँ गण्डकी प्रदेश नवलपरासी पूर्व १-१ बाट निर्वाचित हुनुभएको थियो।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली प्रजातन्त्रका सेनानी एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य स्व. गोवर्द्धन शर्माका माहिला छोरा हुनुहुन्छ। २०७८ सालमा गण्डकी प्रदेशबाट र २०६७ सालमा लुम्बिनी अञ्चलबाट उहाँ नेपाली काँग्रेसको केन्द्रीय समितिमा निर्वाचित हुनुभएको थियो। केन्द्रीय सदस्यमा निर्वाचित हुनुअघि उहाँ चार पटक (२०४८ देखि २०६७ सम्म) नेपाली काँग्रेस नवलपरासीको सभापतिमा निर्वाचित हुनुभएको थियो र त्यसअघि जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्थ्यो।

आमा द्रौपदा पोखरेलको कोखबाट तनहुँ राम्चेमा जन्मनुभएका नेपालीले २०२२ देखि २०२८ सालसम्म बुवा गोवर्द्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताउनुभयो। विगत चार दशकदेखि सक्रिय राजनीतिमा लाग्नुभएका उहाँले प्रजातन्त्रको पुनर्स्थापना गर्ने आन्दोलनको क्रममा पटक पटक गरी तिन वर्षभन्दा बढी जेल जीवन बिताउनुभएको छ। राजनीतिक जीवन सँगसँगै उहाँले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाई स्कुलहरूमा राजनीति शास्त्र, भूगोल, इतिहास पढाउनुभयो।

यही दौरानमा २०३६ सालको जनमत सङ्ग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली काँग्रेसलाई विजयी गराएको आरोपमा मन्त्री परिषद्को निर्णयले उहाँलाई जुम्ला सरुवा गर्ने निर्णय गर्‍यो। यसका साथसाथै २०३६ साल ताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उहाँले शैक्षिक क्षेत्र छोड्नुभयो र अधिवक्ताको रूपमा जनपक्षीय कानुनी सेवामा समर्पित हुनुभयो। उहाँको सिङ्गो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए। राजनीतिक कारणले आफैँ शारीरिक यातनाबाट गुज्रनुभएका नेपाली एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ।

प्रमुख घटनाक्रमहरू:
२०२२ देखि २०२८ सम्म: बुवा स्व. गोवर्द्धन शर्मासँग भारतमा निर्वासित जीवन
२०२९ देखि २०३६ सम्म: काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाई स्कुलहरूमा अध्यापन
२०३५: विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
२०३६ सालको जनमत सङ्ग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली काँग्रेस विजयी)
२०३७: निर्वाचन बहिष्कार (जेल चलान)
२०४६: प्रथम जनआन्दोलन (जेल चलान)
२०४८: सत्याग्रह (जेल चलान)
२०४८ सालको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट नवलपरासी - ४ मा उम्मेदवार
२०४८ देखि २०६७ सम्म: सभापति, नेपाली काँग्रेस, नवलपरासी
२०६२/६३: दोस्रो जनआन्दोलन (जेल चलान)
२०६७: नेपाली काँग्रेस केन्द्रीय समितिमा लुम्बिनी अञ्चलबाट निर्वाचित
२०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी - ३ प्रत्यक्षतर्फका लागि नेपाली काँग्रेसका उम्मेदवार
२०७४: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १-१ बाट निर्वाचित
२०७५: गण्डकी प्रदेश नेपाली काँग्रेसको संसदीय दलको नेतामा सर्वसम्मतले निर्वाचित
२०७८: गण्डकी प्रदेशको मुख्यमन्त्रीमा निर्वाचित
२०७८: नेपाली काँग्रेस केन्द्रीय समितिमा गण्डकी प्रदेशबाट निर्वाचित

शिक्षा:
LL.B. (त्रिभुवन विश्वविद्यालय)
BA Honors (बिहार युनिभरसिटी, भारत)

Home